सेनाको हातबाट छोरालाई छिनेर ल्याउन सकिनँ : सोनु थारु

दश वर्षे जनयुद्धका क्रममा तत्कालीन शाही नेपाली सेनाद्वारा हजारौंको संख्यामा जनता बेपत्ता बनाइए । माओवादीको आशंकामा वा अरु कारणहरु देखाई बेपत्ता बनाएकाहरुलाई सरकारले आजका दिनसम्म पनि सार्वजनिक गर्न सकेको छैन । बेपत्ता बनाइएकोमा अधिकांश जस्तो युवाहरु हुन्थे । जिल्लागत हिसाबमा बर्दिया जिल्ला सबै भन्दा धेरै बेपत्ता पारिएको जिल्ला मानिन्छ । यो कथा सोही जिल्लाको एउटा गाउँको हो ।

“मैले के गल्ती गरेको छु ?
आमा मलाई किन लग्न लागेको ?”

सेनाले लग्दा मेरो छोराले प्रश्न गरिरहेको थियो ।

२०५८ चैत्र २९ गते सोनुको घरमा एक्कासी सेनाहरु देखा परे । सुतिरहेको ठाउँबाटै सोनुको छोरालाई सेनाले तानेर लगे । लाख कोशिस गर्दा पनि सेनाको हातबाट र लगेको ब्यारेकबाट उनले आफ्नो छोरा फिर्ता गर्न सकेनन् । सेनाको पिटाईबाट आजसम्म पनि शरिर दुख्ने समस्या त छँदैछ । तर सोनुलाई त्यो भन्दा बढि दुखाई छोरा बेपत्ता पारिएकोमा हुन्छ । यो कथा उनै पीडित आमाको हो जो बेपत्ता पारिएको छोरा फर्कने आशमा बाटो हेर्दै बसेकी छिन् ।

 

***
फोटो : बिकिल स्थापित
कथा वाचन : गीता रसाईली