माओवादीलाई खाना खुवाएकै भएर सेनाले समातेर लगे : राजु चौधरी

राजु चौधरीलाई राज्यको सुरक्षा निकायले सुराकी कै भरमा समायो । उसको अपराध : “माओवादीलाई खाना खान दिएको” । गाउँ घेरा हालेर घरघर छापामारेको सेनाले राजुसँगै अरु ५ जना गाउँलेलाई माओवादीको आरोपमा समाए । सबैलाई चिसापानी ब्यारेकमा लगे । १४ दिनसम्म सबैजना सँगै राखियो र त्यसपछि राजुसँगै समातिएका ती ५ जनालाई राति ८ बजे ब्यारेकबाट निकालेर लगियो ।

हाम्रो आँखा अगाडि चैं “यिनीहरुलाई छोड्दैछौं “भन्थ्यो सेनाले ।

तर खै अब साँचिकै छोड्थ्यो कि गोलीले छोड्यो?

जनयुद्धताका माओवादीलाई खाना खान दिनु नै राजु चौधरीको अपराध बन्यो । खाना नदिएको भए माओवादीले अपराधीको दर्जा भिडाउँथ्यो । राज्य र माओवादीको चेपुवामा परेकाहरुको कथा हो यो । यो कथा राजु चौधरीको हो ।